२७ जेठ, काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ ।
मंगलबार बिहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतले पीसीआर टेस्ट बढाउनुपर्ने, आरडीटी विधिको परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने, विदेशमा समस्यामा रहेका नेपालीको उद्धार गर्नुपर्ने माग राखेका थिए ।
लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘संक्रामक रोग नियन्त्रण ऐन २०२०’ का प्रावधान उल्लंघन गरेका कारण सामान्य बल प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताए ।

0 Comments:
Post a Comment